सन् २०१२ को मध्ये तिर होला, मेरो औपचारिक पढाई सकी सकेको थियो । तर मेरी श्रीमती (त्यति खेर हामी साथी मात्रै थियौं) एक अनुसन्धान केन्द्रसंग डिसेम्बरसम्म अनुवन्धित भएको हुनाले, हामीले ७-८ महिना जर्मनी नै बस्ने निधो गर्यौ। विविध सामाजिक र सांस्कृतिक कार्यक्रमहरू जर्मनीको फ्रैंकफर्ट वरपर नेतृत्व गरेको हुनाले म नेपाली डायस्पोरा र विद्यार्थीहरूसँग नजिक थिएँ । म नेपाल फर्कने निर्णय लिएको भएर होस् वा अरु केहि कारणले होस्, त्यहीं पढिरहेको एकजना नेपाली विद्यार्थीले मलाई नेपालमा केहि युवा वर्गहरूले सकारात्मक परिवर्तनको लागि संगठित रुपमा काम गरिरहेको बताएँ। सँगै विस्तृतमा बुझ्नको लागि एउटा भर्चुअल बैठकमा पनि आमन्त्रित गरें। मलाई कुरा राम्रै लाग्यो, म सभागी भएँ भर्चुअल बैठकमा। मोटा-मोटि १०-१२ जनाको समुहम़ा हामी नेपाली युवाहरू जर्मनी, नेपाल र अरु केहि देशबाट त्यस भर्चुअल बैठकमा सम्मिलित भएका थियौं। देश बनाउने कुरा बेहोस हुँदा त मन पराउने हामी नेपाली, होसमा मन नपर्ने त कुरै भएन। त्यहि भर्चुअल बैठकमा उज्ज्वल थापाले देश विकास सम्बन्धी प्रस्तुतीकरण गर्नु भयो। त्यहाँ पहिलो चोटी उज्ज्वल दाईलाई भेट्न पाएँ र उहाँको विचार सुन्न पाएँ । जर्मनीबाट एकजना भाइले नेपालमा भैरहेको कामलाई टेवा पुर्याउन कोष संकलन गर्न नेतृत्व गर्नु भयो। धेरै उत्साहको साथ मेरो क्षमताले भ्याएको आर्थिक सहयोग पनि गरें।
हाम्रो तीन- चार पटक यसरी नै कुरा भयो। बिस्तारै उहाँको कुरामा आफूलाई भेट्न छाडे मैले। उहाँले गन्तव्य जति प्रस्टतासँग कल्पना गर्न सक्नु हुन्थ्यो, त्यहाँ पुग्ने बाटाहरू त्यति नै अलमल भएको पाएँ। तर राम्रो कुरा के थियो भने, मैले उहाँलाई गरेको प्रश्नको उत्तर जहिले पनि पाएँ। यस्तै कुराकानीको बेलामा नयाँ राजनीतिक दल खोल्ने निधो गरेको थाहा पाएँ। विवेकशील नाम राख्ने भन्दा मेरो यस्मा ठूलै विमति रह्यो। हामी आफैंले आफैंलाई विवेक भएको एक जमात र हामीसँग नजुडेका विवेक नभएका जमात स्वयं घोषित गर्नु आफैंमा विवेक हिन कार्य हो भन्ने मलाई लाग्यो। थोरै व्यक्तिको विमति रहेको हुनाले होला सायद धेरै चर्चा परिचर्चा नभई दलको नाम विवेकशील नै भएको थाहा पाएँ मैले। एक राजनीतिक दलमा कति को विवेक छ छैन भन्ने कुरा त जनताले मूल्याङ्कन गर्ने हो, स्वयंले होइन। त्यस बखतमा तर्कहरू को धेरै मन्थन नगरी भावनात्मक निर्णय लिनुलाई राजनीतिक अभ्यास भएको पटक्कै लागेन।
४ नोभेम्बर २०१२ मा घोषणापत्रको ड्राफ्ट विवेकशील कै एकजना साथीले google drive मा मलाई पनि पठाउनु भयो। घोषणापत्रको दोस्रो पानामा नेपाल हाम्रो घर हो, डेरा होइन, भन्ने वाक्य पढ्ने बित्तिकै यो घोषणापत्रमा मैले आफूलाई समेट्न सकिन । दसकौं लामो काठमाडौँको बसाईमा घरधनीले दे’को मानसिक पिडा को सम्झना गरायो। आफूले लगानी गरेको अन्तत ती भावानाहरूको बाबजूत आफू बसेको घरलाई घर भन्नुको सट्टा डेरा भन्नुले दुई फरक समाजको सिर्जना भैरहेको सहर हो यो काठमाडौँ। मेरो परिवारको आर्थिक स्थितिले काठमाडौँमा घर बनाउन नसक्नु सँगै उच्च स्तरीय पढाई र रोजगारीको सुनिश्चितता काठमाडौँ मै हुनुले जुन अपमन मैले भोगें, त्यसको झझल्को थियो यो घोषणापत्रमा। यो घोषणापत्र पठाएको तीन महिना पश्चात फेब्रुअरी २०१३ मा Google drive बाट नेपाल जनगणना २०११ को आधारमा एक कागजात पठाउनु भयो उज्ज्वल दाइले, जसमा उल्लिखित थियो ५८.६५% भाडामा बस्ने जनसंख्या काठमाडौँ मै बस्दो रहेछन्। दसकौं लामो काठमाडौँमा भाडामा बस्दाको मेरो पिडा लाखौं नेपालीसँग मिल्छ होला। यस्ता अरु धेरै कुराहरूले राजनीतिक परिवर्तन ल्याउन खोज्ने उर्जाशील उज्ज्वल दाइको यो दस्तावेजले सबैलाई समेट्न नसकेको अनुभव गरें।
यहि दस्तावेज पढ्दै जाँदा परिवर्तनको बाटोमा धेरै अस्पष्टता पाउँदै गएँ। दलको सिद्धान्त र दर्शनहरू मै स्पष्टता देखिन। द्वेष र आक्रोश मात्रै पाएँ। अनि एक महत्वाकांक्षा पाएँ त्यस दस्तावेजमा कि यो दलले नेतृत्व गर्यो भने सबै समस्याको समाधान हुनेछ भनेर। जति पनि साथीहरू भेटें मैले त्यहि एउटै सुगा रटान, अरु राजनीतिक दलले देश बिगारे। पढेलेखेको युवाले मात्रै देशको नेतृत्व लिनु पर्छ भन्ने मान्यता सधैँ सुनिने तर्क कस्तो अमिल्दो लाग्छ मलाई। जनसंख्याको आधारलाई केन्द्रबिन्दुमा राख्ने हो भने, प्यारामिटरहरू प्रस्ट रुपमा परिभाषित गर्नु पर्ने छ। युवाको जनसंख्यालाई आधार मानेर राजनीतिक प्रतिनिधित्व गर्ने हो भने अरु प्यारामिटरहरू छुट्याउनु मिल्दैन। नेपाल जनगणना २०११ को आधारमा स्नातक गरेको नेपाली जम्मा जम्मी ३% छन्। यसको अर्थ नेपालको राजनीति यहि ३% स्नातक गरेकाले मात्रै गर्नु पर्ने हो ? जनसंख्याको अरु प्यारामिटरहरू जस्तै जात, वर्ग, समुदाय, लिङ्ग आदिका आधार लियो भने त विवेकशील दलको प्रतिनिधत्व र नेतृत्वमा धेरै प्रश्नहरू उठ्न सक्छन्। यी सबै कारणले विवेकशील दलको युवा र पढेलेखेको प्रतिनिधित्व मै अमिल्दो तर्क लाग्यो मलाई।
सिद्धान्त, दर्शनहरू हामीले ल्याउन खोजेको परिवर्तनमा केहि फरक पर्दैन भन्ने बुझाई नै मेरो लागि थप अमिल्दो हुन गयो । अरब, जापान, सिंगापुर, अमेरिका, क्यानाडा, युरोप र दक्षिण कोरिया जस्ता देशहरूमा फरक व्यवस्था हुँदा पनि विकास भयो। म यहीं निर अड्किन्थें, मेरो बुझाईमा पूर्वाधार विस्तारलाई मात्रै विकास भन्नु आफैमा पूर्ण होइन। मेरो वाकस्वतन्त्रता, भविष्यको सुनिश्चितता, पहिचानसँगै प्रतिनिधित्व र समताको साथ-साथै पूर्वाधार विस्तार जस्ता धेरै कुराहरूले विकसित देशलाई परिभाषित गर्छ। अरु सबै कुरालाई व्यवसायीकरण गरे पनि, राज्यले शिक्षा, स्वास्थ्य र यातायतको पूर्ण जिम्मेवारी लिनु पर्ने हुन्छ। आधारभूत आवश्यकता सुनिश्चितताको लागि र समता मुलक समाजको विम्व स्थापना गर्नको लागि सबै नेपालीले यी तिन कुराको उत्कृष्ट र समान सेवा पाउनुको विकल्प छैन। त्यति खेर विवेकशील दलमा यस सम्बन्धमा खासै प्रस्टता पाइनँ मैले।
कहिले काहीं त राजावादीको बोली र उहाँहरूको बोली एउटै लाग्ने मलाई। अहिलेसम्मको राजनीतिक र समाजिक उब्लाब्धीलाई खासै मान्यता नदिने र जति पनि यस्ता उपलब्धी भएका छन्, त्यो सबै नेपाली जनताले चाहेकोभन्दा विपरीत भएको बुझाई। अनि अधिकांश नेता र सबै राजनीतिक दल भ्रस्ट भएको निष्कर्ष। यस्तै मौका मिलेको बेलामा मैले उज्ज्वलदाइलाई राजा र राजतन्त्रप्रति उहाँको विचार सोधेको पनि थिएँ। हुन त दस्तावेजमा – ” स्थापित प्रजातान्त्रिक मान्यताहरू जस्तै: नागरिक स्वतन्त्रता, विधिको साशन, र शक्ति पृथकीकरण र हाम्रो संगठनको आन्तरिक प्रजातन्त्रको पक्षमा हामी दृढ छौँ।” भनेर लेखिएको पनि थियो, अनि लेखिएको कुरासँग अवगत नै थिएँ म पनि। उज्ज्वलदाइले दस्तावेजमा लेखिएको कुरा नै दोहर्याउनु भयो। तर अझै पनि उहाँको बाटो हिन्नेले, “राजा आऊ, देश बचाऊ” नभन्ला भन्न सकिन्न जस्तो लाग्यो।
यी सबै कारणले होला, मलाई वैकल्पिक राजनैतिक शक्तिको संस्थापक सदस्य हुन इच्छा लागेन। कथित वैकल्पिक राजनैतिक दल, नेतृत्व र उज्ज्वल दाइसग मेरो विचार नमिल्नु स्वभाभिक नै लाग्छ मलाई। म ईन्जिनियर पढ्दा विद्यार्थीहरूको सक्रिय नेतृत्व गर्दा मुलधारको राजनीतिमा आएको माओवादी, नवनिर्मित मधेशी दल, स्थिर कांग्रेस र एमाले जस्ता राजनीतिक संगठनमा जोडिने प्रस्ताव आउँदा पनि कहिले सदस्यता लिन चाहिन। विद्यार्थी नेतृत्व गर्ने त्यो समय कालखण्डमा ज्ञानेन्द्रको साशन ब्युँतिनु, मेरो स्वतन्त्र उम्मेदवारीमा राजावादीको हस्तक्षप देखिन थाल्यो। सबै दलको पृष्ठभूमि बुझ्ने मौका पाएँ पनि, विद्यार्थी राजनीति पार्टी विहिन हुनु पर्छ भन्ने मेरो बुझाईले कुनै पनि राजनीतिक दलको सदस्यता लिन मलाई रहर लागेन। कुनै दलको सदस्यता लिएको भए सादय मेरो राजनीतिक संगतले मेरो प्रभाव आजको दिनमा बढ्न सक्थ्यो होला, तर यसले फेरि मेरै सिद्धान्तको आत्मघात पनि गर्थ्यो।
मेरो लागि राजनीतिक दल एक आस्थाको मन्दिर हो। जसरि यो संसारमा धर्मका विभिन्न मठ मन्दिर, मस्जित, चर्च , गुरु द्वारा जस्ता अनेकौं स्थलहरूसंगै हुन सक्छन्, विविध राजनैतिक आस्थाको सँगसँगै समाज परिवर्तनको लागि संघर्षरथ हुन सक्छ। संगै लड्न सक्छ, संगै मिल्न सक्छ। तर यो लडाई र मिलनको गन्तब्य भने एउटै हुने हो। अनि स्वतन्त्र खुल्ला समाजमा यो लडाईँ र मिलनको प्रारम्भ र अन्त्य विचार र विवेक मै सिमित हुने हो। यहि विचार र विवेकको कुरा गर्ने हो भने मेरो उज्ज्वल दाइ र कथित वैकल्पिक राजनीतिक दलसँग धेरै असहमति छन्। राजनीतिक दलको नामाकरण गर्नु, सुरुमा कुकुर चिन्ह राख्नु, कम भोट आएकै कारणले स्माइली राख्नु अनि राजनैतिक अभ्यास र प्रयाश नभएको जनमानसबाट आएको प्रतिक्रियाको सामुहिक रुपमा प्रतिवाद मात्र गर्नु मलाई गैरचिंतनशील लाग्यो। भूकम्पको बेलामा काठमाडौँ र नजिकैका पहाडी जिल्लामा राहतको काम सह्रानीय लागे पनि उज्ज्वल दाइको खुल्ला अपील “कलेज विश्वविद्यालय नखोलेर, केहि समय राहत वितरणमा विद्यार्थीलाई संलग्न ” गर्ने कुरा मलाई सारै एकात्मक रहेको लागेर विरोध पनि गरें। राजनीतिक कुप्रथाहरूको खुलेरै विरोध गर्नु जस्तै नेपाल बन्द हुने प्रथा , निहित चासो अन्तर्गतको राजनैतिक नियुक्ति र सँगै डटेर खुलेर डाक्टर गोविन्द के.सी.को अभियानलाई एकताबद्ध रुपमा नेतृत्व गर्नुले एउटा आश जगाएकै हो, यो दलसँग । तर आक्रान्त भएका मधेशी समुदाय, केहि निकाश नदेख्दा उपहास भैरहेको त्यो आन्दोलित मधेशको आवाजहरू कथित वैकल्पिक दलले इमान्दारी पूर्वक बुझ्न पनि नसक्नुलाई मैले उहाँहरूको सिमितताको रुपमा मुल्यांकन गरें। एका तिर संविधान घोषणा भएकोमा दीपावली मनाउने एउटा समाज, र त्यहि दीपावली मनाउन नसक्ने मधेशी समुदायको प्रतिनिधि जनमानसहरू मसानघाटमा स्वयम् जलिरहेको अवस्थालाई सामान्य मान्ने वैकल्पिक शक्तिहरू कसरि प्रगतिशील हुन सक्छन् मेरो लागि। त्यसैले उज्ज्वल दाइलाई र उहाँले नेतृत्व गरेको राजनीतिक दललाई स्वीकारे पनि मेरो प्रतिनिधित्व अधिकांश रुपमा त्यस दल र नेतृत्वमा पाइनँ।
दसकभन्दा केहि कम हाम्रो चिनजानमा जति नै मैले उज्ज्वल दाइसंग असहमति राखे पनि सहकार्यको ढोका भने सदैब खुल्ला नै थियो। म आवद्ध रहेको तीनवटा संस्थाले गर्ने काम प्रति विभिन्न कालखण्डमा उहाँसँग सल्लाह लिइराखें मैले। उहाँको सल्लाह र सहकार्य प्रति सदैब नै कृतज्ञ रही रहन्छु। कृतज्ञता मात्रै नभएर मेरो लागि उहाँ प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो । म मेरो परिवारको स्नातक गर्ने पहिलो व्यक्ति मात्रै नभएर खानदानकै पहिलो व्यक्ति पनि हो, ईन्जिनियरिङमा मास्टर डिग्री गर्न विदेश गएको । राम्रो शिक्षा र साथीसंगतले यहाँसम्म त आएको थिएँ। तर ज्ञान सिप हासिल गरेर नेपाल फर्किन चाहनेको संगत चाहिं लगभग थिएन। केहि व्यक्तिमध्ये उज्ज्वल दाइ हुनुहुन्थ्यो जसको जीवन मेरो लागि उदाहरणीय हुन गयो, नेपाल फर्किने दृढताको लागि। यो देश हामीले नै बनाउने हो, अरुले आएर बनाउँदैनन् भन्ने वाक्यांशसँग सधैँ जोडिएको हुन्छु म । दुर्भाग्य के हो भने, नाक थिचेर फोहोर देखिटाढा भाग्ने, अनि समाज फोहोर छ भनेर समाजको उपहास गर्ने जेनेरेसन हो यो। राजनीति फोहोरको खेल हो भन्ने, यो फोहोरलाई सफा गर्ने आल्पसंख्यक युवाहरूको प्रतिक हुनुहुन्थ्यो उज्ज्वल दाइ।
उहाँद्वारा नेतृत्व दलसँग कैयौं विमति भए पनि, उहाँसँग संगत गर्दा मैले उहाँलाई जहिले पनि युवा सशक्तीकरण प्रति जागरुक र इमान्दार रहेको पाएँ। हामीले सकारात्मक कार्यको सम्भावना, आफूले गरेको कल्पनाको झिल्को मात्र भए पनि बाल्न सक्नु पर्छ भनेर निरन्तर भनि रहनुहुन्थ्यो । हामीले नेतृत्व गर्नु नै पर्छ भन्ने पनि होइन, तर हामीले रोजेको बाटोमा अरुले नेतृत्व गरे पनि हुन्छ। जहिलेपनि उहाँसँगको यो बातचितमा, उहाँको नेतृत्वप्रतिको उदारताको झलक आउँछ। नेतृत्व कसले गर्ने भन्दा पनि सकारात्मक परिवर्तनप्रति केन्द्रित पाएँ उहाँलाई।
हाम्रो सम्बन्ध भावनाको थियो, सद्भाव र मित्रताको थियो , भोटको थिएन। म कुनै राजनीतिक दलसँग सम्बन्धित नभएको हुनाले, मेरो भोट कसलाई जान्छ भने निर्णय मेरो हो। म आजको दिनमा कुनै एउटा राजनीतिक दलसँग आस्था राखौंला, त्यहि दललाई भोट पनि दिम्ला। भविष्यमा अर्कै राजनीतिक दलसँग मेरो आस्था रहन सक्ला या म आफै पनि कुनै दलको प्रतिनिधित्व गर्दै सक्रिय राजनीतिमा होमिउँला। यो सब मेरो नितान्त व्यक्तिगत निर्णय हुने छ र म कसैप्रति यसको लागि उत्तरदायी छैन।
उज्ज्वलदाइले आफ्नो राजनीतिक दर्शन र त्यसको भविष्य सुनिश्चितताको लागि गर्नु पर्ने योगदान, यो अल्पायु मै गरेर जानु भयो। उहाँको समकालीन पुस्ता भएर उहाँसँग प्रतक्ष सिक्न पाउनु र थोरै भए पनि विचार आदान प्रदान गर्न पाउनुमा हर्षित नै छु। यो पुस्ता र सम्भवत आगामी पुस्ताहरू एक अलग राजनीतिक चिन्तन सुरुवात गर्नु भएकोमा उहाँलाई सदैब सम्झिने छन्।
यद्यपि, उज्ज्वल दाइको असामयिक निधनलाई राजनीतिकरण गर्नखोज्नु आफैंमा दुर्भाग्यपूर्ण हो। हुन त यो देशमा अरु पनि राजनीतिक दलले मृत्युलाई हत्याको प्रोपगान्डा बनाउनु सत्तामा पुग्नलाई नै रै’छ भन्ने त प्रस्ट बुझिन्छ। मतियार युवराजले राजासँगै सबै परिवारको हत्या गर्नुलाई पनि प्रोपगान्डा गर्नु एक राजनीतिक खेल नै हो। सहिद र अग्रज नेतालाई भोट बैंकको सुत्र बनाउनु त सामान्य नै भैसकेको छ। उज्जल दाइप्रतिको हाम्रो मायालाई भोट या विवेककहिनतासँग तुलना नगर्न सबै लाई आग्रह गर्न चाहन्छु।
हार्दिक श्रद्धा सुमन आदरणीय उज्ज्वल दाइप्रति!