एकजना विद्यार्थीले रटान मारेर गाईको बारेमा निवन्ध रटेछ। भोलि पल्ट परीक्षामा आमाको बारेमा निवन्ध लेख भनेर आएछ। विद्यार्थीले निवन्ध लेख्न सुरु गर्यो – जसले हामीलाई जन्म दिन्छ उहाँ हाम्रो आमा हो । तर गाई पनि हाम्रो आमा सरह नै हो । अनि तेस्रो पंक्तिबाट रटे सरह दुई पाना जति गाईको बारेमा लेखेर निवन्ध पुरा गरेछ । अब यो परीक्षामा विद्यार्थीले त्यहि निवन्धमा पूर्ण अंक प्राप्त गर्दछ भने , यहाँ को हो गलत? विद्यार्थी आथवा शिक्षक ? गलत उत्तर लेखेर पनि पूर्ण अंक पाइन्छ भने विद्यार्थीले भविष्यमा सिक्न अनि मेहनत गर्न किन प्रेरित हुन्छ होला? साथै सहि र गलतको भिन्नता थाहा नभएको व्यक्तिलाई यो प्रणालीले प्रोत्साहितम गर्छ भने , हामीले पछि त्यहि व्यक्तिले सहि निर्णय लिन्छ भनेर सोच्नु नै सबै भन्दा ठुलो मुर्ख्यता हुन जान्छ।
दसकौंदेखि यो देशको प्रणाली पनि यस्तै छ – गलत मुल्यांकन ! सताव्दियौं पुरानो राजतन्त्र र राणा साशनले हाम्रो बोल्ने आधिकारलाई वन्चित गरेको थियो । तर प्रजातंत्र हुँदै गणतन्त्रसम्म आइपुग्दा आम नेपाली जनताले आफूलाई लागेको निर्णय लिन पाउँछन् । मुल्यांकन गर्ने आधिकार हुँदा पनि सहि निर्णय आम नेपाली जनताले कतिको लिएको छ त ? विकास गर्न नसक्नेलाई मुल्यांकन कर्ताले बारम्बार अन्धभक्त भएर देश विकास गर्ने अधिकार दिनु नै सबैभन्दा गलत निर्णय हो। पार्टीको झन्डा र जातीयताको मुद्दा पछि-पछि दगुर्नेहरुले नै केहि समयपछि काम भएन भनेर मन्त्रि र राजनीतिक समुहलाई गाली गर्नुको केहि औचित्य छैन। यहाँ निर कविर दासको दोहा स्मरण भयो :
“करता रहा सो क्यों रहा, अब करी क्यों पछताए।
बोये पेड़ बबूलका, अमुआ कहा से पाए।। “
आज हामीसंग आधिकार छ, सहि गलत छुटयाउन सक्ने । तर हामी केको आधारमा हाम्रो प्रतिनिधित्व छान्दछौं ! स्थानीय चुनाबको माहोल थियो , एउटा समहूमा सबै जना चर्चा गरिराखेको थिए , कांग्रेशले जिते पनि भयो कम्युनिष्टले जिते पनि भयो तर बिराटनगरको मेयर मधेसी हुनु हुँदैन। धेरै जना मधेशीको चित्त दुख्छ होला यो सुनेर । तर बिराटनगरमै मैले सुनेको मधेसीको मुल्यांकन पनि जातीयताभन्दा फरक थिएन , “जसरि भए’नी मधेशी नै मेयर हुनु पर्ने ।त्यस्तै संघ र प्रादेशिक चुनाबको बेलामा म मेरो गाउँ तिलाठी सप्तरीमा थिएँ । त्यहाँ पनि त्यस्तै जातिय खेल – ब्राह्मणलाई जिताउने कि यादवलाई जिताउने , मण्डललाई जिताउने कि कायस्तलाई जिताउने ? झापाको एकजना भाई भेटें, उसको भनाइ थियो सहि गलत त छँदै छ दाई तर एउटा पार्टीप्रतिको आस्था अनि अर्को हाम्रो ठाउँको मान्छे प्रधानमन्त्री हुने। दक्षिण ललितपुरको केहि साथीले त्यस्तै भने , हाम्रो क्षेत्रको मान्छे गृहमन्त्री हुने हो भने उहाँलाई नै जिताउने हो। कसैको लागि त कुनै-कुनै उमेदवार पूर्व प्रधानमन्त्रिको नातेदार आथवा कुनै निश्चित कुलबाट आउनुले नै त्यो उमेदवार जित्नुको कुनै विकल्प नभएको मानिसकता पाए। अनि फेरी सबैलाई थाहा भएकै कुरा हो, स-साना समहू वा भव्य जमघटमा भोज, अनि त्यहि भोजमा हुन्छ जाँड र मासु संगै अरु परिकारको व्यवास्था । अनि देखादेखि पैसाको खेल । आजको दिनमा को छैन होला जस्ले चुनावको बेलामा यो देखेन । त्यति खेर हाम्रो प्राथमिकता नै फरक थियो भने आज राजनीतिक दल र नेतासंग किन गुनासो गर्ने ? हामीले चुनेका आधिकाम्श नेताको पहिलो प्राथमिकता आफ्नो लागि नै शक्ति संचय गर्नु हो र दोस्रो आफु संग्लग्न भएको राजनीतिक दल सत्तामा निपूर्णता साथ् पुर्याउनु। उहाँहरुले हिजो पनि त्यहि गरेको हो र आज पनि त्यहि नै गरिराखेका छन्। विकास गर्न आए पो विकास गर्ने ! विकास र समृद्धि गर्न नसकेपछि, उहाँहरुले गर्ने भेनेको सत्ताको खेल नै हो । आरोप-प्रत्यारोप गरेर होस् वा चाहिने नचाहिने मुद्दा उठाएर होस्, जनतालाई दसकौंदेखि झुक्याई रहेका छन्। ठिक उसै गरी जसरि ति विद्यार्थीले आफ्नो शिक्षकलाई आमाको साटो गाईको बारेमा निवन्ध लेखेर झुक्याउँछन् । अकर्मन्यता लुकाउन यिनै नेता र कार्यकर्ताले आवाज चर्काउँदै देश विकासको कुरा गर्छन्।
देशमा संघीयता आइसकेको छ । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा धेरै मत भिन्नता छन् । यो मत भिन्नता के को लागि ? मधेश भन्ने कि तराई भन्ने ? राजधानी कहाँ बनाउने – बिराटनगर, धनकुट्टा, धरान, इटहरी, बुटवल, दाङ, जनकपुर, बिरगंज ? काम काजको भाषा के हुने ? प्रदेश को नाम के राख्ने ? चिन, भारत, युरोपीयन युनियन वा आमेरिका मध्ये को छ ठिक नेपालको लागि ? “ओ.ब.ओ.र” वा “म.सी.सी” मध्ये कुन हितकारक छ देशको लागि ? यहाँ बाद विवाद चलिरहेछ – सडकदेखि सदनसम्म। प्रजातन्त्रमा सबैले बोल्न पाउनु नै सबैभन्दा ठुलो उपलब्धि हो। तर दुर्भाग्य के हो भने चर्को चर्को आवाजमा हितैसीले ताली बजाउलान् तर सहि कामको मुल्यांकन धेरै कमले गर्न सक्छन्। त्यसैले बोलेर जित्ने आभ्यास यहाँ देखिन्छ । सुनेकै भरमा नबुझेकै भरमा र ज्ञान नै नभएको भरमा बोल्न कोहि डराउँदैन।
भारतको बारेमा नकारात्मक कुरा गरेर, आफ्नो दोष लाई लुकाउने जुन एक थरि राजनीतिक दलका केहि नेता-कार्यकर्ता हरुले आफ्नो कुर्सि- सत्ता जोगाउन बिगत र बर्तमान मा गरिराखेका छन्। आज त्यस्तै घट्य़ा चरित्र अर्को थरि राजनीतिक दल र नेता-कार्यकर्ता हरुले, चिनको बारेमा नकारात्मक कुरा गरेर भ्रम श्रीजना गरिरहेका छन्। समस्या भारत र चिन होइन !
हाम्रो निहित चासो, निक्कामा पन, आफ्नै देशको नागरिक लाई विश्वास गर्न नसकने नस्लीय मानसिकता बाट ग्रसित छौँ हामी। यहाँ एक-अर्काको लागि हामी सबै दलाल हो ! कोहि भारत को दलाल, कोहि यूरोपियन युनियन को दलाल, कोहि अमेरिका को, कोहि चिन को। यति मात्रै होइन, शैक्षिक माफिया , स्वास्थ माफिया, डॉलर खेति गर्ने व्यक्ति, भू-माफिया, भ्रस्ट कर्मचारी, अनैतिक नेता, शोषण गर्ने ब्यापारी इत्या आदि जस्ता ट्यागलाइन लगाउन पछि हँट्दैनौ, हामी ।
जब काम गर्न नसक्ने भए पछि नेता कार्यकर्ताले आफ्नो राजनीतिक मुद्दालाई जीवित राख्न आरोप प्रत्यारोपको खेल खेलिरहेको कहिलेसम्म हेरेर हामी रमाउने ! कहिलेसम्म देशमा केहि गर्न सकिन्न सोचेर पलायन हुन खोज्ने ? कहिलेसम्म नेताको भरमा बसेर देश बनाउन खोज्ने ?
त्यसैले सबैभन्दा महत्पूर्ण चाहिं हामी आम नागरिक सचेत हुनु पर्ने हो जसले बादबिबाद गरेर होइन , संगै कर्म पनि गरेर देश बनाउन आठोट गर्न सक्नु पर्ने छ। जसले सगरमाथाको उचाइमा मात्रै गर्ब गर्दै पलायन नभइकन, अठोट गरेर देशको उचाई बढाउन जन्मभुमिलाई कर्मभूमि बनाउन दृढ हुनु पर्ने छ। बुद्धको जन्म नेपालमा भएको हो भनेर नारामा सिमित नभैकन बुद्ध जस्तै जीवनको सहि अर्थ खोज्न, सत्तामा समर्पित नहुन ठुलो मन राख्नु पर्ने छ। सीताको गुणगान मात्रै नगाइकन हामीले सहनशीलतालाई नेतृत्वको क्षमता मान्नु पर्ने छ ।
जब राजनीति नै सत्ता र शक्तिको लागि गरिन्छ , त्यहाँ नेताले लोलिपोप त्यतिखेर मात्रै देखाउन अन्त्य गर्नेछ जब जनताले केवल कामको मुल्यांकन गर्ने छ। जति छिटै र जति धेरै हामी नेपलीले कामको उदहारण सिर्जना गर्ने छौँ, त्यति नै छिटो देशमा सकारात्मक रुपमा परिवर्तन हुनेछ।
हाम्रो मर्यादा सबैलाई समेट्न सक्ने गरि धेरै नै फराकिलो गर्नु पर्नेछ । जबसम्म हामीले फरक विचार सुनेर मनन गर्ने छैनौ, जबसम्म हामीले विविधतालाई आफ्नो मान्ने छैनौ, जबसम्म अरुको गल्तिलाई क्षमा गर्न सक्ने छैनौ, जबसम्म हामीले आफ्नो गल्ति सुधार्ने छैनौ, जबसम्म हामीमा सहिष्णुता हुने छैन, त्यति खेरसम्म हामी एक हुने छैनौं। जबसम्म हामी एक हुने छैनौ तबसम्म देश विकास हुने छैन।
हमी सबैलाई शुभकामना छ नेताको पछि लगेर होइन, बादबिबादले मात्र पनि होइन, बरु आफ्नै कर्म काण्डले देश बनाउने सपना पनि देखौं र देश पनि बनाऔँ।